
इलाम, २०८२ आसाढ १ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट सञ्चालित बागबानी संकायका समस्याहरू समाधानका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।
स्ववियुले बुझाएको ज्ञापनपत्रमा उल्लेख भएअनुसार, पूर्वी पहाड क्षेत्रमै पहिलोपटक स्थापना गरिएको, आधुनिक तथा व्यावसायिक अभ्यासमा आधारित बागबानी संकाय पछिल्ला वर्षहरूमा विद्यार्थी भर्ना अभावको समस्यामा परेको छ। मुख्य कारणहरूमा विदेश अध्ययनप्रति आकर्षण, कृषि क्याम्पसहरूको अत्याधिक संख्या, र प्रवेश परीक्षा केन्द्रहरू पूर्वी नेपालका विद्यार्थीहरूका लागि पहुँचबाहिर हुनु रहेका छन्। शैक्षिक सत्र २०७९ यतादेखि कुनै पनि विद्यार्थी भर्ना हुन नसकेको र प्रवेश परीक्षा काठमाडौं वा अन्य सुदूर केन्द्रमा मात्रै हुने हुँदा, योग्य विद्यार्थीहरू अन्य ठूला क्याम्पसतर्फ आकर्षित हुने स्थिति सिर्जना भएको छ। यस्तो अवस्थाले इलाम जस्ता भूगोलका विद्यार्थीहरू मारमा परेका छन्।
समस्या समाधानको लागि त्रिवि उपकुलपतिसँग यो भन्दा पहिला समेत मौखिक रुपमा छलफल भइसकेको र आज ज्ञापन पत्र स्ववियु अध्यक्ष विशाल कार्की द्वारा बुझाइएको छ। उहाँले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा नै प्रवेश परीक्षा केन्द्र तोकिने गरी आवश्यक पहल कदमी गर्न मन्त्रालयसँग अनुरोध गर्नु भएको छ ।
